share 238 काठमाडौं । पछिल्ला केही महिनादेखि ‘जेनजी आन्दोलन’का नाममा सरकारी कार्यालयहरूमा पुग्ने एउटा समूह चर्चामा छ। ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भन्दै भिडियो क्यामेरा बोकेर पुग्ने ती समूहका सदस्यहरू कहिले महानिर्देशकलाई राजीनामा दिन दबाब दिन्छन्, कहिले अधिकारीलाई धम्की दिन्छन्। उक्त समूहको नेतृत्व गर्ने पात्र हुन् अछाम पञ्चदेवल विनायक नगरपालिका–४ निवासी २६ वर्षीय युवक अर्जुनबहादुर शाही। उनी हाल ‘जेनजी’ नाममा चर्चित बनेका छन्। तर उनको पछिल्लो परिचयभन्दा पहिलेका रेकर्डले फरक रहेको छ। ठगी, चेक बाउन्स र वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति। ‘राजीनामा दिनुस्, होइन भने थुतेर ल्याउँछु’ काठमाडौंबाट केही समयअघि सार्वजनिक भएको भिडिओमा शाही नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै देखिन्छन्। ‘काम गर्न नसक्ने मान्छे किन बस्ने? ठाउँ खाली गर्नुस्, अर्को आउँछ,’ भन्दै उनले महानिर्देशकलाई थर्काएका थिए। त्यसपछि उनी नेपाल वायु सेवा निगमको कार्यालय पुगे। त्यहाँ अध्यक्ष युवराज अधिकारीलाई ‘घरबाटै थुतेर ल्याउँछु’ भन्ने धम्की दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेपछि भने उनले कर्मचारीमाथि चिच्याउँदै, ‘टाइमको कुरै नगर्नुस्, हामी विथआउट टाइमिङ आएका हौं,’ भन्दै अराजक शैलीमा प्रस्तुत भए। सरकारी कर्मचारीलाई धम्क्याउने, निर्देशन दिने र राजीनामा माग्ने यी सबै हर्कतहरू शाहीकै टोलीको क्यामेरामा कैद छन्। तर ती भिडिओमा ‘अनुगमन’भन्दा बढी दबाब र धम्कीको शैली झल्किन्छ। वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त शाहीको नाम पछिल्लो महिनामा मात्र होइन, अघिल्लो वर्षमा पनि प्रहरीका फाइलमा दर्ता छ। उनविरुद्ध वैदेशिक ठगीदेखि बैंकिङ कसुरसम्मका उजुरी दर्ता भएका छन्। श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा दिएको जाहेरीअनुसार, शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसका नाममा ३ लाख ८० हजारको चेक दिएका थिए। तर रकम नभएपछि चेक बाउन्स भयो। रोजिना थापा नामकी महिलाले समेत १० लाख ३० हजारको चेक बाउन्सको उजुरी दिएकी थिइन्। विद्या श्रेष्ठले उनलाई १० लाख सापटी दिएको र त्यसवापत दिएको चेक पनि असफल भएको भन्दै उजुरी दिएकी थिइन्। अर्का पीडित सुवास तामाङले भने जापान पठाइदिन्छु भन्दै ८ लाख ठगी गरेको आरोपमा उजुरी दर्ता गराएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, शाहीलाई गत वैशाखमा वैदेशिक रोजगार कसुरमा पक्राउ गरी विभाग पठाइएको थियो। ‘त्यो बेला उनले बिरामी छु भन्दै अस्पताल भर्ना हुन खोजेका थिए,’ विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार ‘उनी रकम तिर्छु भनेर धरौटीमा छुटेका थिए, तर पीडितले अहिले पनि रकम नपाएको जानकारी छ।’ ५५ भोट ल्याएका उम्मेदवार अर्जुनकुमार शाही राजनीति पनि चाख्ने पात्र हुन्। २०८१ वैशाखमा भएको इलाम–२ उपनिर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। सो उपनिर्वाचन एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको क्षेत्र थियो। शाहीको चुनाव चिन्ह ‘डोजर’ थियो। तर परिणाममा उनी केवल ५५ भोट ल्याएर पछाडि परे। त्यसबेला उनी देशकै कान्छा उम्मेदवार पनि बनेका थिए। जेनजी आन्दोलनसँग जोडिएको उपस्थिति शाही अहिले ‘जेनजी आन्दोलन’का खास पात्रका रूपमा देखिन्छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही जेनजी अगुवा सुदन गुरुङसँगै शीतल निवास पुगेका थिए। त्यहाँ उनीहरूले एकअर्काको हात समाउँदै फोटो खिचाएका थिए, जसले शाहीलाई फेरि सार्वजनिक चर्चामा ल्यायो। तर ठगी र बैंकिङ कसुरमा पक्राउ परेका व्यक्तिलाई आन्दोलनको नाममा ‘रेड कार्पेट’ ओच्छ्याइएको भन्दै धेरैले प्रश्न उठाइरहेका छन्। ‘जेनजीको नाममा जनताको पक्षमा भनेर धम्की, ठगी र अराजकता फैलाउनु न त आन्दोलन हो, न नै नेतृत्व,’ एक राजनीतिक विश्लेषकले सेतोपाटीसँग भने। कानूनभन्दा माथि कोही छैन प्रहरी स्रोतका अनुसार, शाहीविरुद्धका विभिन्न मुद्दा अहिले पनि अनुसन्धानमै छ। फुयाल र अन्य पीडितको जाहेरी प्रहरी वृत्त महाराजगञ्जमा दर्ता छ। वैदेशिक रोजगार विभागमा पनि ठगीसम्बन्धी फाइल खुलेको छ। कानूनविद्हरू भन्छन्, “जेनजी होस् वा जुनसुकै आन्दोलन, ठगी र धम्कीमा संलग्न कोही पनि कानूनी कारबाहीबाट जोगिन सक्दैन।” पोस्टको नेभिगेसन प्रचण्डको सचिवालयद्वारा ‘झुठा प्रचार’ गरेको आरोपमा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी