काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ।
सुवेदीले हालै एक युट्युब अन्तर्वार्तामा जेनजी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमार्फत दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए। उक्त दाबीलाई माओवादी केन्द्रले ‘पूर्णतः असत्य र बदनाम गर्ने प्रयोजनसहितको प्रचार’ भन्दै आपत्ति जनाएको छ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरिएको हो।
‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै पार्टी नेतृत्वको चरित्रहत्या गर्ने प्रयास भएको छ,’ आचार्यले भने, ‘त्यसकारण डिजिटल माध्यमबाट गरिएको यस्तो गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ।’
प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा यसरी गरिएको भ्रामक प्रचारले पार्टी नेतृत्वमाथि चरित्रहत्या गर्न खोजिएको भन्दै यस्ता गतिविधिमाथि कडाइका साथ कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग आग्रह गरेको छ।

