काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ ।

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ । उक्त रिट निवेदन सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ ।

कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरिदिएको थियो। त्यसपछि सो मुद्दा दर्ता भएको हो।