काठमाडौं । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड  सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो ।

उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो। बाराको जितपुरसिमरा उपमहानगरपालिका-११ बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो । चालक बस्ने सिटमा मृतक रहेको सूचनापछि पुगेको प्रहरीले अनुसन्धान गर्दा जितपुरसिमरा उपमहानगरपालिका-१ घर भई प्रहरीमै कार्यरत व्यक्ति रहेको खुलेको थियो। शव पोष्टमार्टमका क्रममा टाउकोमा गोलीको बुलेट फेला परेको थियो ।

उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीको भएको खुलेको छ । जितपुरसिमरा उपमहानगरपालिका-३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भएका तिवारी पनि सिमरा विमानस्थलमै कार्यरत थिए । उनको कारभित्र शव फेला परेपछि प्रहरीले तिवारीलाई पनि पक्राउ गरेको छ । अरु २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका-१९ का २७ वर्षीय पुरुषोत्तमकुमार दास र सोही ठाउँका २० वर्षीय इन्द्रजितकुमार चौहान रहेका छन् ।

दास जितपुरसिमरा-१ को जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन् । मृतकले लगाएको सुनको सिक्रि र पर्स दासकोे वर्कसपबाट प्रहरीले बरामद गरेको छ ।
गुप्तचरका अनुसन्धान अधिकृतले भने सोधपुछको क्रममा मृतक रुम्बाले आफ्नो गाडी मागेर लगेको बताएका बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए । उनीहरुलाई पहिलो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको डीएसपी सापकोटाले बताए ।