काठमाडौं । दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेको छ ।
घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही-१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो ।
सो घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेको थियो । उनलाई घोराही-१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।
उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए ।