पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ ।
यस मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा छ ।