काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बहस नसकिएसँगै रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरी हिरासतमै फर्काइएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् । यस्तै, सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरे पनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
रविमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा चलिरहेको हो । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ । ती जिल्लामा समेत लामिछानेविरुद्ध मुद्दा अभियोजनको प्रक्रियामा छ ।