काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा रास्वपाका सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेसहितका ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीहरुविरुद्ध आज दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको हो । प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यसअघि सहकारी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि रवि कास्की प्रहरीको हिरासतमा छन् ।