काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीले आयोजनाको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

 

मिश्र आफैं अदालतमा हाजिर भएपछि उनलाई रिहा गरिएको हो। उक्त घटनासँग सम्बन्धित अर्को आरोपी राप्रपाका महामन्त्री तथा सांसद शवलशम्शेर राणा पनि ३ लाख धरौटीमा सोमबार रिहा भएका थिए। धरौटीमा छुटेका राणा आजै संघीय संसद्को बैठकमा सहभागी भइसकेका छन्।

 

मिश्रविरुद्ध जेठ ११ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध तथा एकीकृत अपराध अन्तर्गत सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो। चैत १५ गतेको प्रदर्शनमा मिश्रले दिएको भनिएको उत्तेजक अभिव्यक्तिका कारण घटनाले हिंसात्मक रुप लिँदै दुई जनाको ज्यान गएको थियो।

उक्त घटनाका मुख्य योजनाकारको रूपमा चिनिएका दुर्गा प्रसाईं भने अहिले पनि थुनामा रहेका छन्। अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।