काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ ।

पक्राउ पर्नेमा ललितकुमार केसी नाम गरेको व्यक्ति रहेको र उनको हाल ठेगाना खुलेको छैन । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बुधबार त्रिपाठिमाथि अदालत गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए ।

जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि केही व्यक्तिले हातपातको प्रयास गरेका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा त्रिपाठीले जाहेरवालाको तर्फबाट बहस गरेका छन् ।

उक्त मुद्दामा लामिछाने ६० लाख धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् ।