काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंको हिरासत अवधि जिल्ला अदालत काठमाडौँले थप सात दिनका लागि बढाउने आदेश दिएको छ। गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा मिश्र, प्रसाईंसहित २५ जनालाई पक्राउ गरिएको थियो। जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले उनीहरूलाई थप अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(६) अनुसार हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। आदेशमा प्रतिवादी पशुपति खड्काको उपचारको पनि उचित व्यवस्था गर्न भनिएको छ। दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ भएको जनाउँदै स्वास्थ्य समस्या उठाएपछि अदालतले स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न यस्तो आदेश दिएको हो।

तीनकुने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई विभिन्न आरोपमा अनुसन्धान अगाडि बढाइएको छ भने घटनाबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। अदालतको आदेशपछि अनुसन्धानलाई तिव्रता दिइने प्रहरी स्रोतले जनाएको छ।