काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत लेखा समितिको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक र प्राविधिक दुवै प्रकारका भ्रष्टाचार भएको ठहर गर्दै सोमबार प्रतिवेदन बुझाएको छ। संयोजक राजेन्द्र लिङ्देनले सभापति ऋषिकेश पोखरेललाई बुझाएको प्रतिवेदनमा भ्रष्टाचारको रकम यकिन नभए पनि २० वटा चरणमा अनियमितता भएको उल्लेख छ। समितिका केही सदस्यहरूका अनुसार १० देखि १८ अर्बसम्मको भ्रष्टाचार भएको अनुमान गरिएको छ।
उक्त प्रतिवेदनमा नागरिक उड्डयन प्राधिकरण (क्यान)का वर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित ८ जना पूर्व तथा वर्तमान उच्च अधिकारीको नाम किटान गरी कारबाहीको सिफारिस गरिएको छ। यिनमा पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल, आयोजना प्रमुख निवेश मुनाकर्मी, निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल र बाबुराम पौडेल छन्। प्रतिवेदनमा विमानस्थल सञ्चालन योग्य नभएको भन्दै, पूर्ण परीक्षण र सुधारपछि मात्रै व्यवसायिक सञ्चालन गर्नुपर्ने भनिएको छ।
तर, प्रतिवेदनमा नेकपा एमालेका दुई सांसद गोकुल बाँस्कोटा र तारा लामा तामाङले हस्ताक्षर गरेका छैनन्। उनीहरूले प्रक्रियागत त्रुटि, विषयवस्तुको अस्पष्टता र गहिरो छलफलको अभाव भन्दै फरक मत राखेका छन्। तामाङले प्राविधिक भ्रष्टाचारको दाबी प्रमाणबिना गरिएको र विमानस्थलले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको अवस्थालाई पनि बेवास्ता गरिएको बताएका छन्। अब मूल लेखा समितिले प्रतिवेदनको आधिकारिक निर्णय गर्नेछ।