लुम्बिनी — पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनको क्रममा दुर्व्यवहार गरेको अभियोगमा फरार रहेका दिपेश यादवलाई रूपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ। वैशाख ८ गते मर्चवारमा पत्रकारमाथि दुर्व्यवहार भएपछि यादव फरार थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार उनलाई नेपाल–भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवमाथि “अभद्र व्यवहार” मुद्दामा अनुसन्धानका लागि खोजी भइरहेको थियो। पत्रकार विश्वकर्माले यादव नेतृत्वको ७–८ जनाको समूहले समाचार सङ्कलनको क्रममा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए। उजुरीपछि प्रहरी यादवको खोजीमा लागेको थियो।
घटनापछि पत्रकारमाथि भएको दुर्व्यवहारको विरोधमा लुम्बिनी प्रेस क्लबले वैशाख ९ गते जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। तय समयमा यादव पक्राउ नपरेपछि क्लबले तीन दिने आन्दोलनको घोषणा गरेको थियो। आन्दोलनको पहिलो दिन वैशाख ११ गते बिहान पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए।
धर्नामा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत सञ्चार क्षेत्रका विभिन्न सङ्गठनका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका थिए। उनीहरूले पत्रकारको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने माग गरेका छन्।