काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रकाे नाममा सम्बोधन गर्ने घोषणा गरेको छ । वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे  उनले राष्ट्रका नाममा सम्बोधन गर्ने बताएको छ ।

सम्बोधनमा उनले इरानमाथिको आक्रमणसँगै अमेरिकी रणनीतिका विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ। ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य स्थिति कस्तो बन्नेछ भन्ने सङ्केत दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएको छ।

यसअघि ट्रम्पले अमेरिकाले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेको थियो । आक्रमणमा प्रयोग भएका सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको उनले बताए ।

‘यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वको लागि ऐतिहासिक क्षण हो,’ ट्रप्मले ट्रुथ सोसलमा पोस्ट गरेको छ ।  ‘इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ’।