काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको नेतृत्व हासिल गर्ने प्रक्रिया र पछिल्ला आन्तरिक विवादबारे टिप्पणी गरेका छन्।

माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्दै गजुरेलले कम्युनिष्ट पार्टीमा नेतृत्व पाउन ‘रचनात्मक सहयोग’ वा ‘रचनात्मक प्रतिवाद’ आवश्यक पर्ने बताए। उनका अनुसार अध्यक्ष प्रचण्डले यी दुवै चरण पार गर्दै वर्तमान नेतृत्वसम्म पुगेका हुन्।

उनले भने, “कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको प्रश्न होइन, रचनात्मक सहयोग गरेर वा गलत भए रचनात्मक प्रतिवाद गरेर हुन्छ। प्रचण्डले यी दुवै चरण पार गर्नु भएको हो।”

अर्का उपमहासचिव जनार्दन शर्माप्रति इङ्गित गर्दै गजुरेलले, शर्मालाई पार्टीभित्र अत्यधिक ‘स्पेस’ दिएकाले उनी ‘मैमत्त’ भएको आरोप लगाए। उनका शब्दमा, “अहिलेको संघर्ष मैत्रीपूर्ण छैन, जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भएको हो।”

माओवादी केन्द्रको स्थायी समिति बैठकमा हालै देखिएको आन्तरिक तिक्तता र भावी नेतृत्वबारे छलफल चलिरहेको छ।