काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा समाजवादी क्रान्ति सफल बनाउनका लागि व्यापक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताएका छन्।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै विप्लवले हालको नेपाली समाज राजनीतिक बहसबाट क्रमशः विमुख हुँदै गएको उल्लेख गर्दै, सिद्धान्तनिष्ठ बहसलाई पुनः जीवित पार्नु जरुरी रहेको बताए। उनका अनुसार, सार्वजनिक गरिएका कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरूले यो बहसलाई पुनः उठान गर्ने महत्वपूर्ण भूमिका खेल्नेछन्।
विप्लवले यी पुस्तकहरू विशेषगरी युवालगायत कम्युनिस्ट आन्दोलनमा संलग्न सबैले गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वर्तमान सत्ताप्रति टिप्पणी गर्दै, वैचारिक स्पष्टता र संगठनात्मक एकताबिना समाजवादको लक्ष्य हासिल हुन नसक्ने धारणा व्यक्त गरे।

