काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका प्रश्न र सुझावको जवाफ दिने भएका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डको जवाफअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका सबै नेताहरूले आफ्ना विचार प्रस्तुत गरिसकेका छन्। आजको बैठकमा गुरुङ र श्रेष्ठको धारणा सुनेपछि प्रचण्डले अन्तिम प्रतिक्रिया दिने र त्यसपछि बैठक समापन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ।