काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
सोमबार बसेको स्थायी समिति बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले शर्मासँग आत्मालोचना अपेक्षा गरेको बताएका हुन्। बैठकमा सहभागी अधिकांश स्थायी समिति सदस्यले पार्टीबाहिर नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै गल्ती गरेको भन्दै शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए।
बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेतलगायतले पार्टी अनुशासन विपरीत अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाएका थिए। स्थायी समिति सदस्य गणेशमान पुनलगायतले पनि शर्माले आत्मालोचना गर्नुपर्ने धारणा राखे, जसलाई अधिकांश सदस्यले समर्थन जनाए।
अध्यक्ष प्रचण्डले आइतबार बैठकबाट बाहिरिँदै संक्षिप्त प्रतिक्रिया दिँदै “जसले गल्ती गरेको हो, उसैले आत्मालोचना गर्नुपर्छ” भनेका थिए।

