काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता सम्पन्न गरी एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ। छिट्टै वार्ता सम्पन्न गर्ने समिति बनाएर अघि बढाइनेछ,” सापकोटाले भने।

त्यस्तै, माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकताका विषयमा छलफल जारी राखेको छ। समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको प्रवक्ता सापकोटाले स्पष्ट पारे।
“माधवजीको पार्टीसँग पनि समाजवादी मोर्चामा उहाँ हुनुहुन्छ, त्यहाँ छलफल चलिरहेको छ। निष्कर्षमा पुगिसकेको छैन। हाम्रो प्रयास सकेसम्म मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने हो,” उनले बताए।

यस निर्णयसँगै माओवादी केन्द्रले आफ्नो संगठन विस्तार र वाम एकतालाई नयाँ चरणमा पुर्याउने संकेत दिएको छ।