मनाङ उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु

९ महिना अगाडि ९ महिना अगाडि ९ महिना अगाडि

काठमाडौं । मनाङ क्षेत्र नं. १ (२) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगले मंगलबार सूचना जारी गर्दै भदौ १९ देखि २५ गतेसम्म कान्तिपथस्थित केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन पेस गर्न आह्वान गरेको हो।

राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त बनेको सो पदका लागि उपनिर्वाचन हुने भएको हो।

दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ। साथै दलको नाम, स्थापना मिति, सम्पर्क ठेगाना, पदाधिकारी सूची, वार्षिक लेखापरीक्षण प्रतिवेदन, उम्मेदवार सिफारिस गर्ने अधिकार प्रदान गर्ने निर्णय प्रतिलिपि लगायतका कागजात आवश्यक हुनेछन्।

नयाँ दल बनेका वा गाभिएका दलका हकमा अघिल्लो आर्थिक वर्ष (०८०/८१) को लेखापरीक्षण प्रतिवेदनमा साबिक दलहरूको विवरणसमेत अनिवार्य राख्नुपर्ने आयोगले जनाएको छ।

थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने बताइएको छ।