काठमाडौँ अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ भने एक हजार ३०० भन्दा बढी घाइते भएका छन्। अफगानिस्तानको गृह मन्त्रालयका अनुसार आइतबार राति ११ः४७ बजे गएको ६ म्याग्निच्युडको भूकम्पको केन्द्र नान्गारहार र कुनार प्रान्तमा रहेको थियो। यसको गहिराइ ८ किलोमिटर नापिएको छ।

भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तीमा तीनवटा परकम्प गएको समाचार एजेन्सी एएफपीले जनाएको छ। धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।

सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको छ, जहाँको लगभग ९० प्रतिशत भूभाग पहाडी छ। प्रभावित क्षेत्रमा पुग्ने सडक साँघुरा र जोखिमपूर्ण भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। धेरै सडक पहिरोका कारण अवरुद्ध छन्।

तालिबान अधिकारीहरूले सीमित स्रोतसाधनका कारण उद्धार र राहतमा समस्या भइरहेको बताएका छन्। प्रभावित क्षेत्रमा हेलिकप्टर उपलब्ध गराउन र राहत पु-याउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरिएको छ।