काठमाडौं । रुपन्देही-३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो निजी जीवनबारे उठेका प्रश्नको प्रष्टिकरण दिएका छन्।

सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेको स्वीकार गर्दै उनले सन्तानको भविष्यका लागि पूर्वपत्नीसमेतसँग मित्रवत् सम्बन्ध रहेको बताए। सामाजिक सञ्जालमार्फत उनले कानुनी प्रमाणसमेत पेस गर्दै पारिवारिक जीवन न गैरकानुनी न समस्यापूर्ण भएको दाबी गरे।

थापाले भने, “सम्बन्ध विच्छेद भएपछि पनि सन्तानलाई आमाबाबु दुबैको माया मिलोस् भन्ने मेरो चाहना हो। यसमा मलाई ग्लानि छैन।”

व्यक्तिगत आक्रमणलाई राजनीतिक चालबाजी भन्दै उनले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्धको योजनाबद्ध प्रहारको संज्ञा दिए। पार्टीको पारदर्शी प्रक्रियाबाट उम्मेदवार बनेको उल्लेख गर्दै उनले भने, “म नेता बन्न होइन, देश बदल्ने यात्रामा सहयात्री बन्न आएको हुँ।”