share 241 काठमाडौं । नेपाली लोक तथा सेलो संगीतकी चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा भएको परिवारजनले जानकारी दिएका छन्। गोले लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्षरत थिइन्। करिब दुई वर्षअघि क्यान्सर पत्ता लागेपछि उनले हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराएकी थिइन्। स्वास्थ्य अवस्था केही सुधारिएपछि उनी पछिल्ला दिनमा घरमै आराम गरिरहेकी थिइन्। सन् १९६६ मा ललितपुरको भारदेउमा जन्मिएकी गोलेले दुई दशकभन्दा बढी समय नेपाली संगीत क्षेत्रमा बिताइन्। उनले लोक, दोहोरी, तामाङ सेलो र आधुनिकसहित करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन्। “चागुनारायण थान,” “घुम्तीनीर लेट भयो,” “आज मलाई ऊनीको पछ्यौरी,” “सफा ट्याम्पुरी,” लगायतका गीतले उनलाई विशेष चर्चामा ल्याएका थिए। गोलेले तामाङ भाका र मौलिक धुनलाई राष्ट्रिय मञ्चमा पुर्याउने काम मात्र गरिनन्, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली संगीत चिनाउने योगदान दिइन्। उनका स्वरले नेपाली लोकसंगीतलाई नयाँ उचाइमा पु¥याएको संगीतकर्मीहरूले बताएका छन्। उनको स्वास्थ्य उपचारका लागि विभिन्न कलाकार, संघ–संस्था र विदेशस्थित नेपाली समुदायले आर्थिक सहयोग संकलन गरेका थिए। “इन्दिरा गोले बचाउ अभियान”मार्फत धेरै सहयोग जुटाइएको थियो। उनको निधनप्रति कलाकार, शुभेच्छुक र श्रोताहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने तयारी भएको छ। पोस्टको नेभिगेसन दोस्रो विवाह बारे डा. लेखजंगको प्रतिक्रिया कपनमा रास्वपा नेता वदन भण्डारीमाथि आक्रमण