काठमाडौं । गोंगबुस्थित एक घरमा छापा मार्दा प्रहरीले झन्डै ४ करोड रुपैयाँ बराबरको अवैध रकमसहित सुनका ढिक्का बरामद गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार, मंगलबार घरमा गरिएको छापामारी क्रममा ३ करोड ७५ लाख रुपैयाँ फेला परेको हो भने अझै केही नगद गणना बाँकी रहेको बताइएको छ।

खनालले भने, “सूचनाका आधारमा छापा मार्दा ठूलो परिमाणमा नगदसहित सुनका ढिक्का समेत बरामद भएका छन्। हालसम्म ३ करोड ७५ लाख रुपैयाँ फेला परेको छ, अझै गणना जारी छ।”

घटनास्थलबाट विनोदकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद रकम र सुनको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।