काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको अभ्यासमा देखिएका कमीकमजोरीहरूको कठोर समीक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार जारी विज्ञप्तिमा उनले परिवर्तनविरोधीहरूले माओवादी केन्द्रबारे झूटो प्रचार फैलाइरहेको भन्दै त्यसमा भ्रममा नपर्न आग्रह गरेका छन्।
प्रचण्डले अग्रगामी परिवर्तन, नेपाली जनताको अधिकारसहित सुशासन र सामाजिक न्याय कायम गर्ने अभियानमा साथ र समर्थन रहने स्पष्ट पारेका छन्। उनले विश्वासको मतको समयमा संसदमा चेतावनी दिँदै पनि दुईतिहाईको दम्भमा सरकार संवेदनहीन बनेकाले आजको अवस्था आएको स्मरण गराएका छन्।
उनले संविधान कार्यान्वयनमा कांग्रेस र एमाले परम्परागत सोचभन्दा माथि उठ्न नसक्दा जनतामा आक्रोश चुलिएको उल्लेख गर्दै हालको जेनजी आन्दोलनले आफूले अघि राखेका मुद्दाहरू उठाएको बताए। “आन्दोलनका कैयन् पीडादायी पक्ष भए पनि यसले राष्ट्रलाई अग्रगमनतर्फ डोर्याउने सम्भावना खोलिदिएको छ। यसका लागि जेनजी पुस्ता धन्यवादको पात्र छ,” विज्ञप्तिमा भनिएको छ।
प्रचण्डले जेनजी पुस्ताले उठाएका माग संविधानसम्मत प्रक्रियाबाट सम्बोधन गर्न राष्ट्रपतिद्वारा भइरहेको पहल, शान्ति सुरक्षामा नेपाली सेना र अन्य सुरक्षाकर्मीको भूमिकाको सराहना गरे। साथै, उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै संयमता, सुझबुझ र व्यापक संवादमार्फत शान्तिपूर्ण निकास खोज्न सबैलाई आह्वान गरे।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवारजनप्रति संवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनमा भएको “बर्बर दमन, नरसंहार, लुटपाट र आगजनी”को उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरे।
विज्ञप्ति सहित…..





