काठमाडौं । जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँमा जारी निषेधाज्ञाबीच आज विभिन्न राजनीतिक भ्रातृ संगठन सडकमा उत्रिएका छन्।

काठमाडौँको चाबहिल क्षेत्रमा नेपाली कांग्रेस निकट तरुण दलको समूहले प्रदर्शन गरेको छ भने कोटेश्वर–तीनकुने सडकखण्डमा वाईसीएल कार्यकर्ताले प्रदर्शन गरेका छन्। यस्तै, वाईसीएलको अर्को समूहले बबरमहल क्षेत्रमा सांसद राजन दाहालसहित प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति कहाँ, कुन अवस्थामा छन् भन्ने जानकारी सार्वजनिक गर्न माग गरेका छन्। साथै, संवैधानिक व्यवस्थाअनुसार तत्काल अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढ्नुपर्ने आवाज उनीहरूले उठाएका छन्।

यसअघि सोमबार भएको जेनजीको प्रदर्शनमा मात्रै १९ जनाको मृत्यु भएको थियो भने हालसम्म ३४ जनाको ज्यान गएको पुष्टि भएको छ। सबैको मृत्यु प्रहरीको गोली लागेर भएको बताइएको छ। त्यसपछि बढेको आक्रोशले मंगलबार राजधानीमा सिंहदरबार, संसद् भवनसहितका सरकारी तथा व्यवसायिक भवनमा आगजनी र तोडफोड भएको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि मंगलबार रातिदेखि नै सेना परिचालन गरिएको हो। शीर्ष नेताहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने राष्ट्रपति सेनाको सुरक्षा घेरामा रहेका छन्। सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसँग अन्तरिम सरकार गठनबारे छलफल थाले पनि जेनजीभित्रैको विभाजनका कारण एकमत बन्न सकेको छैन।