काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ भव्य कार्यालय भवन बनाउने घोषणा गरेका छन्।

जेनजी आन्दोलनका क्रममा पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्‍याएपछि मंगलबार प्रचण्ड स्वयं कार्यालय परिसर पुगेर अवलोकन गरेका थिए। त्यही अवसरमा उनले क्षतिग्रस्त भवनलाई प्रतिस्थापन गर्ने गरी नयाँ र आधुनिक कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका हुन्।

प्रचण्डले भने, “अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिर रहेका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य नयाँ कार्यालय भवन बनाइनेछ।” उनले पार्टी कार्यालयलाई नष्ट गर्ने आक्रमणलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै आन्दोलनका नाममा भएको क्षतिलाई पार्टी एकताको बलमा पुनः निर्माण गर्ने बताए।

उनका अनुसार, नयाँ भवन निर्माणका लागि देशभरका कार्यकर्ता, समर्थक र प्रवासी नेपालीसमेतको सहयोग जुटाइनेछ। पार्टी नेतृत्वले यसलाई ‘सामूहिक अभियान’को रूपमा अघि बढाउने योजना बनाएको छ।

यसअघि जेनजी आन्दोलन चर्किँदै गर्दा आन्दोलनकारीले पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आगजनी गरेका थिए। घटनामा महत्वपूर्ण कागजात र सामग्री नष्ट भए पनि केही संवेदनशील अभिलेख भने सुरक्षित गरिएको नेताहरूले बताएका छन्।

प्रचण्डले क्षतिग्रस्त कार्यालय अवलोकनका क्रममा पार्टी कार्यकर्ताहरूसँग छलफल गर्दै आन्दोलनले ल्याएको चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।