काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने प्रस्ताव अघि सारेका छन्। आइतबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्।

उपमहासचिव वर्षमान पुनका अनुसार, अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णयसमेत गरेका छन्। नयाँ संरचनामा प्रचण्ड संयोजक बनेका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यहरू आयोजक समिति सदस्यमा रूपान्तरण भएका छन्।

माओवादी केन्द्रको २०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर त्यसपछि पनि यो विषय थाती रहँदा अध्यक्ष प्रचण्डले खास रूचि देखाएका थिएनन्। पछिल्लो समय पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा लगायतले विशेष महाधिवेशनको माग उठाउँदै आएका थिए।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको सन्दर्भमा राजनीतिक रूपान्तरणबारे बहस तीव्र भएको छ। यही परिस्थितिमा माओवादी केन्द्रले विशेष महाधिवेशनको तयारी अघि सारेको हो।