काठमाडौँ । भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित भएको जेनजी पुस्ताको आन्दोलनले देशको राजनीति हल्लाइदिएको छ । आन्दोलन सुरु भएको २७ घण्टामै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । नयाँ सरकारलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी दिइए पनि प्रमुख चुनौती भने भ्रष्टाचार छानबिनकै छ ।

अख्तियार प्रमुख प्रेमकुमार राईमाथि वाइडबडी र अन्य घोटालामा विवादित भूमिका रहेको भन्दै उनको राजीनामा माग बढेको छ । कानुनविद्हरुले नैतिकताको आधारमा पद त्याग्नुपर्ने आवाज उठाएका छन् । जेनजी पुस्ताले पनि राईलाई साथमा राखेर काम गरे आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

यसबीच, भ्रष्टाचारका मुद्दामा सक्रिय अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । उनले पूर्वका थुप्रै घोटाला उजागर गरेका कारण अब उच्चस्तरीय छानबिन आयोग गठन हुने अपेक्षा बढेको छ । नयाँ सरकारले चुनाव मात्र होइन, जनआन्दोलनले उठाएका माग पुरा गर्नतर्फ कस्तो कदम चाल्छ भन्ने कुरामाथि सबैको नजर छ ।