काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाको बुद्धि नपुग्दा जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन्। विजया दशमीका दिन शहीद परिवारसँग भेट्दै उनले मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
प्रधानमन्त्री कार्कीले शहीद परिवारका बालबालिकाको पढाइ र रोजगारीका अवसरका बारेमा राज्यले विशेष योजना बनाउने तयारी भइरहेको बताइन्। “दु:खद् घटना भयो, बुद्धि नपुग्दा यस्तो भयो। राज्यले फर्काएर ल्याउन त सक्दैन, तर उठ्न सहयोग अवश्य गर्छ,” उनले भनिन्।
प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि शहीद परिवार भेट्न पुगेका थिए। उनले दशैंको टीका नलगाई शहीद परिवारसँग समय बिताएको उल्लेख गर्दै शहीदको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता जनाए।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए। राष्ट्रिय पीडाको घडीमा प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाएको र अरुलाई पनि नलगाइदिएको बताइन्।

