काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’ (उनेपा) सँग कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पारेका छन्। उनले उनेपाले प्रचार गरेको जुम मिटिङमा समेत आफू सहभागी नहुने बताए।

हालै निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनका विषयमा कुलमान घिसिङसहितका विज्ञहरूसँग जुम मिटिङ हुने भनेर प्रचार गर्दै आएको थियो। उक्त प्रचारपछि कुलमानले सार्वजनिक रूपमा त्यसको खण्डन गरेका हुन्।

‘नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन। यसअघि पनि छलफल भएको होइन,’ अनलाइनखबरसँग कुरा गर्दै घिसिङले भने, ‘प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ।’

उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ हुन्। तामाङ यसअघि प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का कार्यालय सदस्य थिए। उनले गत साउन ३१ गते आजपा परित्याग गर्दै ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए।

तामाङले दल गठनका सन्दर्भमा कुलमानसँग जुम मिटिङमार्फत छलफल गर्न लागेको भन्दै प्रचार सामग्रीहरू सार्वजनिक गरेका थिए। तर घिसिङले आफूलाई सोधपुछ नै नगरी फोटो प्रयोग गरी प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।