काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेता तथा कार्यकर्तालाई विपद् जोखिमविरुद्ध सक्रिय हुन निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले देशभर भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम बढेको भन्दै जनतासँगै रही सहयोग र सतर्कता अपनाउन आग्रह गरेका हुन्।

मौसम विभागले जारी गरेको चेतावनीलाई उद्धृत गर्दै प्रचण्डले जोखिमपूर्ण क्षेत्रका जनसमुदायलाई आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन्। साथै, तीनै तहका सरकारलाई विपद् व्यवस्थापनमा तीव्र पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका छन्।

उनले भने, “हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।”