काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलका शीर्ष नेताहरूमाथि भ्रष्टाचार छानबिनको आवरणमा जेल हाल्ने षड्यन्त्र हुनसक्ने चेतावनी दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले पछिल्लो समय भइरहेका गतिविधिहरू सामान्य देखिए पनि यसमा योजनाबद्ध चलखेल लुकेको बताएका हुन्। “भ्रष्टाचार नियन्त्रणको नाममा मात्र नभई राजनीतिक उद्देश्यसहित मुद्दा थोपर्ने र जेल पठाउने अभ्यास भइरहेको छ,” प्रचण्डले भने।

उनका अनुसार यसरी नेताहरूलाई कमजोर बनाउने प्रयासले लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्ने छ। उनले दलहरूबीचको एकतालाई कमजोर पार्ने र सत्ता समीकरणलाई आफ्नो पक्षमा पार्ने लक्ष्यसहित यस्ता गतिविधि भइरहेको बताए।

प्रधानमन्त्रीले यस्तो चलखेलविरुद्ध सचेत रहन दलहरूलाई आह्वान गर्दै एकताबद्ध भएर सामना गर्नुपर्नेमा जोड दिए। साथै उनले आगामी दिनमा यसबारे थप ठोस धारणा सार्वजनिक गर्ने तयारीसमेत रहेको बताए।