काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब १० महिनादेखि घरभाडा नतिरेपछि घरधनीले पार्टीलाई केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्।
बनस्थलीस्थित घर उपलब्ध गराएका घरधनी भरतमणि देवकोटाका अनुसार रास्वपा र आफूबीच मासिक ३ लाख ५० हजार रुपैयाँ भाडा दिने सम्झौता भएको थियो। तर, सो सम्झौताअनुसार १० महिनादेखि भाडा नतिरेकाले करिब ३५ लाख रुपैयाँभन्दा बढी बक्यौता बनेको छ।
देवकोटाले भने, “लामो समयसम्म भाडा तिरेको छैन, मैले दिएको ठूलो सापटी रकम पनि फिर्ता भएको छैन। सुरक्षा कारणले पनि समस्या देखिएको छ। त्यसैले बाध्य भएर मैले पार्टीलाई ३ महिनाभित्र घर खाली गर्न जानकारी दिएको छु।”
भाडा नपाउँदा व्यक्तिगत आर्थिक गतिविधिमा समेत समस्या परेको उनको भनाई छ। पार्टीलाई पटक–पटक सम्झाइबुझाइ गरे पनि रकम नआएपछि अन्ततः खाली गर्न अल्टिमेटम दिनुपरेको देवकोटाले बताए।
यस प्रकरणबारे रास्वपाले भने आधिकारिक प्रतिक्रिया दिएको छैन। पार्टीको केन्द्रीय कार्यालय हाल बनस्थलीस्थित देवकोटाको घरमै सञ्चालन हुँदै आएको छ।
देवकोटाले थप स्पष्ट पारे, “सम्झौता भंग भएको छ, अब कानुनी बाटो हिँड्नुपर्ने अवस्था आउन सक्नेछ। तर, म राजनीतिक दल भएकाले केही समयको समयसीमा दिएर समाधान खोज्ने प्रयासमा छु।”
विश्लेषकहरूका अनुसार भाडा विवाद सार्वजनिक हुनु रास्वपाको संगठनात्मक छविमा नकारात्मक असर पर्न सक्ने सम्भावना छ। विशेषगरी राजधानीमै केन्द्रीय कार्यालयको भाडा तिर्न नसकेको सन्देश बाहिरिएपछि पार्टीको आर्थिक व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न सक्ने उनीहरूको तर्क छ।

