काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। नियमित बैठक सम्पन्न भएको एक महिनापछि आकस्मिक बैठक बोलाइएको हो।
स्थायी समिति सदस्य अनिल शर्मा विरहीका अनुसार असोज २३ गते स्थायी समिति र २५ गते केन्द्रीय समिति बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बस्ने तय गरिएको छ। बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक विश्लेषण, वामपन्थी एकता तथा ध्रुवीकरणबारे गम्भीर छलफल हुनेछ।
‘पछिल्लो राजनीतिक अवस्था, वामपन्थीबीच एकता र ध्रुवीकरणबारे ठोस निर्णय लिन बैठक बोलाइएको हो,’ विरहीले रातोपाटीसँग भने।
यसअघि नेकपाले भदौ १७ देखि २६ गतेसम्म स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक सम्पन्न गरेको थियो। त्यही क्रममा भएको जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो। त्यसपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको र फागुन २१ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिएको हो।
नेकपाले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने नीति लिएको भए पनि ठोस निर्णय भने भइसकेको छैन। यही विषयमा बैठकले अन्तिम नीतिगत निर्णय लिने बताइएको छ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। नेकपाले माओवादीसहित वामपन्थी तथा समाजवादी मोर्चासँग एकता गर्ने नीति लिएको भए पनि विचार र कार्यदिशामा स्पष्ट सहमति नजुटेकाले एकता प्रक्रिया ठप्प छ।
विरहीका अनुसार माओवादीसँग एकता प्रक्रिया प्रारम्भिक छलफलमै सीमित छ। ‘पार्टी एकता विचार, सिद्धान्त र कार्यदिशाको आधारमा हुन्छ। अहिलेसम्म सामान्य छलफल बाहेक ठोस प्रगति भएको छैन।’

