काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विशेष महाधिवेशनका तयारीलाई गति दिन आज पार्टी सचिवालय बैठक बोलाएको छ। राजधानी पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा आगामी राजनीतिक दिशा र संगठनात्मक योजना तय गर्ने तयारी गरिएको छ।

बैठकमा विशेष महाधिवेशनको मिति टुंगो लगाउने, प्रतिनिधि छनोटको मापदण्ड निर्धारण गर्ने र रणनीतिक एजेन्डामा केन्द्रित छलफल हुने बताइएको छ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्तामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ।

त्यस्तै, पूर्व पदाधिकारीहरुलाई सचिवालयमा रूपान्तरण गर्ने निर्णय कार्यान्वयनको प्रगतिबारे पनि बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ। बैठकपछि महाधिवेशन तयारीका थप कार्यक्रम सार्वजनिक गर्ने सम्भावना छ।