धादिङ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गर्दै भाइरल बनेका एक युवकलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार राति धादिङमा भएको घटनापछि उनीमाथि मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५५ वर्षीया राममाया कँडेलको धारिलो हतियार खुँडाले प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए। घटना पछि प्रहरीले घटनास्थलमै गएर प्रमाण संकलन गर्दै उनका छोरा ३० वर्षीय यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको हो।

यमबहादुर कँडेल गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा प्रहरीसँग वाकयुद्धमा उत्रिएका भिडियोका कारण सामाजिक सञ्जालमा भाइरल बनेका थिए। भिडिओमा उनले प्रहरीलाई चुनौती दिँदै भनेका थिए, “मेरो आँखामा डर छ? ल हेर्नुस् म डराएको छु? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ।”

प्रहरीका अनुसार आइतबार राति पारिवारिक विवादका क्रममा यमबहादुरले आमामाथि आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार घटनामा प्रयोग गरिएको हतियार घटनास्थलमै फेला परेको छ। यमबहादुरले अपराध गरेको स्वीकार पनि गरेका छन्।

हत्या अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखी मुद्धा दर्ता गरिएको छ। पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा भएपछि मुद्धा अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा अनुसार यमबहादुर जेनजी आन्दोलनका क्रममा अग्रपंक्तिमा देखिने व्यक्ति थिए। उनीबाट आमाको हत्या जस्तो घटना घटेपछि गाउँभर स्तब्धता छाएको छ।