काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले हालै स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको एकता र सहकार्यलाई बलियो बनाउने संकेत दिएका छन्। विश्वसनीय स्रोतका अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने तयारी गरेका छन् भने, पार्टीभित्र नेतृत्व पुनर्संरचनाको छलफलमा कुलमान घिसिङको नाम अगाडि सारिएको छ।

रवि लामिछानेको नेतृत्वमा विवाद र असहमति बढ्दै गएपछि रास्वपा भित्र नयाँ अनुहार खोज्ने प्रयास भइरहेको बताइएको छ। यहीक्रममा लोकप्रिय र प्रशासकीय क्षमताका कारण चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पार्टीको नेतृत्वमा ल्याउने प्रारम्भिक गृहकार्य भइरहेको बताइन्छ।

बालेन शाह र कुलमान घिसिङबीच पछिल्ला केही हप्तामा अनौपचारिक भेटघाट र छलफल भएको पनि स्रोतले जनाएका छन्। यदि सहमति बनेमा, बालेन शाहको समर्थनसहित रास्वपा र स्वतन्त्र समूहबीच नयाँ राजनीतिक मोर्चा निर्माण हुने सम्भावना प्रबल भएको छ।

यस विषयमा रास्वपा सभापति रवि लामिछानेले भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। बालेन पक्षले पनि “अहिले कुनै निर्णय भएको छैन, तर विकल्पहरूमा छलफल भइरहेको छ” भन्नेमा सीमित प्रतिक्रिया दिएको छ।

राजनीतिक विश्लेषकहरूले भने यसलाई आगामी निर्वाचनका लागि नयाँ समीकरण बन्ने संकेतको रूपमा हेरेका छन्।