काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवासमा भएको भेटमा दुबै नेताबीच राजनीतिक समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।
राउत ओलीलाई भेट्न विशेष रूपमा गुण्डु पुगेका थिए। भेटवार्तामा के-कस्ता विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षले औपचारिक रूपमा जानकारी नदिए पनि, संसद् विघटनविरुद्ध अदालत जाने सम्भावित रणनीति र वर्तमान सत्ता समीकरणबारे चर्चा भएको बताइएको छ।
राजनीतिक वृत्तमा ओली–राउत भेटलाई निकट भविष्यको सत्ता समीकरण र विपक्षी गठबन्धनबीचको समन्वयको संकेतका रूपमा पनि हेरिएको छ।

