काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिएका छन्।
गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाएका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णय सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) का नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै प्रचण्डको सुरक्षा पूर्व जनमुक्ति सेनाले गरिरहेको जनाएका छन्।
‘क. प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ। बुझ्नुपर्छ— ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ,’ दीपशिखाले लेखेका छन्।
गृह मन्त्रालयको मापदण्ड अनुसार पूर्वप्रधानमन्त्रीले सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत मात्र राख्न पाउने व्यवस्था छ। तर प्रचण्डको सुरक्षामा ३४ जना सुरक्षाकर्मी खटाइएकाले उनीहरू फिर्ता बोलाइने गृह स्रोतले जनाएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र नेताहरूका निजी निवासमा भएको आगजनीपछि प्रचण्ड उच्च सुरक्षा घेरामा पुगेका थिए। तर दीपशिखाका अनुसार, प्रचण्डले राज्यका सुरक्षाकर्मीको घेरामा केवल एक दिन मात्र बसेका थिए।
‘प्रचण्ड भदौ २४ गते मात्र राज्यको सुरक्षामा रहनुभयो। भोलिपल्टदेखि पूर्व पीएलए र वाईसीएलकै टोलीले उहाँको सुरक्षा गरिरहेको छ,’ उनले भने।
दीपशिखाले बृहत् शान्ति सम्झौतामै पूर्वप्रधानमन्त्रीलाई विशेष सुरक्षा दिने प्रावधान रहेको भन्दै, शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुँदासम्म सरकारले पूर्वाग्रहका कारण सुरक्षा फिर्ता गर्नु गलत भएको टिप्पणी गरेका छन्।
यसबीच, वाईसीएल अध्यक्ष पुष्प ओलीले प्रचण्डको सुरक्षाका लागि दुई तहको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
‘भित्री घेराको सुरक्षा पूर्व पीएलएले गर्छ, जसको संयोजन दीपशिखाले गर्नुभएको छ। बाहिरी घेराको सुरक्षा वाईसीएलको जिम्मामा छ, जुन मेरो नेतृत्वमा व्यवस्थापन हुन्छ,’ ओलीले भने।
उनका अनुसार, प्रचण्ड कुनै कार्यक्रममा जानुअघि वाईसीएल टोलीले पहिल्यै पुगेर सुरक्षा अवस्था अनुगमन गरी आवश्यक व्यवस्था मिलाउँछ। काठमाडौँ उपत्यका तथा उपत्यका प्रदेशका लडाकुहरू अहिले प्रचण्डको नजिकका सुरक्षा घेरामा खटिएका छन्।

