काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार साँझ शीतलनिवासमा सर्वदलीय बैठक सुरू भएको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रपतिको पहलमा बोलाइएको बैठकमा प्रतिनिधिसभामा रहेका सबै प्रमुख दलहरूलाई निमन्त्रणा गरिएको थियो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू सहभागी छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे शीतलनिवासमा सुरू भएको हो। बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारी, राजनीतिक स्थिरता र दलबीच सहकार्यका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा ठूला दलका शीर्ष नेताहरू भने सहभागी छैनन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहेका छन्।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र धनश्याम भुसाल, रास्वपाबाट कार्यवाहक सभापति डी.पी. अर्याल,
राप्रपाबाट प्रवक्ता ज्ञानेन्द्र शाही, जनमत पार्टीबाट सीके राउत,
र नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी सहभागी भएका छन्।
राष्ट्रपतिले सबै दलबीच सहमति र विश्वास पुनःस्थापना गर्न संवादको आवश्यकता रहेको बताउँदै निर्वाचन तयारीमा साझा समझदारी खोज्ने प्रयास गरेका छन्।
बैठक जारी छ।

