काठमाडौं । मित्रराष्ट्र बेलायतमा आयोजित एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको उक्त अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोली सहभागी थिए। तीमध्ये नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक अंकसहित स्वर्ण पदक जितेको हो।
सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि सहभागिता जनाउँदै आएको छ। अभ्यासमा हतियार र करिब ५० पौण्ड (झण्डै २२ किलो) बराबरको उपकरणसहित ५० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्थ्यो। यस क्रममा सैनिकहरूको रणनीतिक तयारी, सूचना सङ्कलन, घाइते तथा बिरामी व्यवस्थापन लगायतका क्षमताको मूल्याङ्कन गरिन्छ।
नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको छ। यो पटकको उपलब्धिसँगै नेपाली सेनाको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उँचो भएको छ।

