share 255 तेहरान । इरानमा जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । गत महिना हेलिकप्टर दूघर्टनामा राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएपछि निर्वाचन हुन लागेको हो । रइसीको कार्यकाल एक वर्ष बाँकी नै थियो । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका नजिकका सहयोगी र कट्टरपन्थी धर्मगुरु मौलवी रइसीको आगमनपछि इस्लामिक गणतन्त्रको हरेक भागमा रूढिवादीहरूको प्रभाव थप बलियो भएको थियो । इरानको संविधानअनुसार राष्ट्रपतिको मृत्यु भएको ५० दिनभित्र नयाँ राष्ट्रपति चुन्नुपर्छ । यस्तो अवस्थामा दलहरूसँग यो पदका लागि उम्मेदवार उठाउन धेरै समय बाँकी छैन । यस चुनावमा शक्तिशाली कन्जरभेटिभ समूहका आ–आफ्ना उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । तर गत संसदीय निर्वाचनमा जनताले अयोग्य घोषित गरेका र विगतका वर्षहरूमा देशभर भएका प्रदर्शनमा बल प्रयोगका कारण कयौँ सुधारवादी समूह र कयौँ प्रमुख व्यक्तिहरूले यो निर्वाचनमा भाग लिन अस्वीकार गरेका छन् । को–को लडिरहेका छन् चुनावमा ? अयातोल्लाह अली खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता हुन् । चुनावमा को–को उठ्ने भन्ने निर्णय देशको शक्तिशाली एजेन्सीले गर्ने भएकोले इरानको चुनाव निष्पक्ष नहुने र यसमा कुनै प्रतिस्पर्धा नहुने पर्यवेक्षकहरू बताउँछन् । संसदीय, राष्ट्रपति र विधानसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने गार्डियन काउन्सिलले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारका लागि दर्ता भएका ८० मध्ये ६ जनालाई मात्रै चुनाव लड्ने मन्जुरी दिएको छ । मोहम्मद बगैर गालिबाफ ६२ वर्षीय गालिबाफ विगत चार वर्षदेखि इरानको संसद्को सभामुख हुन् । उनले तीन पटक राष्ट्रपतिको चुनाव लडेका छन् । ती निर्वाचनमा उनी दुई पटक हारे भने तेस्रो पटक (२०२१ मा) रइसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । उनीसँग उच्च सैन्य पदहरूमा सेवा गरेको लामो इतिहास छ र राजधानी तेहरानको मेयरको रूपमा १२ वर्ष काम गरेको रेकर्ड पनि उनको नाममा छ । अमिर हुसेन गाजिजादेह हाश्मी ५३ वर्षीय हाशमी ईएनटी (कान, नाक र घाँटी) सर्जन हुन् । रूढिवादी विचार राख्ने हाश्मी चार पटक सांसद भइसकेका छन् । उनी पछिल्लो समय राष्ट्रपति राईसीका उपप्रमुखका रूपमा कार्यरत थिए । उनले २०२१ मा राष्ट्रपतिको चुनाव लडे र १० लाखभन्दा कम मत लिएर चौथो स्थानमा रहे । सईद जलिल ५८ वर्षीय जलिल एक्सपेडिन्सी डिस्कर्नमेन्ट काउन्सिलका सदस्य हुन् । यसअघि उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव थिए । चार वर्षसम्म इरानको आणविक वार्ता टोलीको नेतृत्व गरेका थिए । मसुद पेजेशकियान ७० वर्षका पेजेस्कियान मुटुरोग विशेषज्ञ हुन् । पाँच पटक सांसद भइसकेका उनी चार वर्षदेखि देशको स्वास्थ्य मन्त्रीसमेत भइसकेका छन् । उनी आफ्नो सीधा बोल्ने शैलीका लागि परिचित छन् । उनी खुलेर इरानको राजनीतिक वातावरण र भ्रष्टाचारको आलोचना गर्ने गर्छन् । यस पटकको राष्ट्रपतिको चुनावमा सुधारवादी समूहबाट उनी एक मात्र आधिकारिक उम्मेदवार मानिन्छन् । राष्ट्रपति पदको उम्मेदवारको रूपमा पेजेस्कियानको स्वीकृतिलाई उल्लेखनीय घटनाको रूपमा हेरिएको छ । मुस्तफा पूरमोहम्मदी गार्डियन काउन्सिलबाट चुनाव लड्ने सहमति पाउने मुस्तफा पौरमोहम्मदी एक मात्र मौलवी हुन् । उनी रूढिवादी राजनीतिज्ञ हुन् । डेथ कमिटीमा गरेको कामका लागि उनी परिचित छन् । अलिरेजा जाकानी ५९ वर्षीय जाकानी विगत तीन वर्षदेखि तेहरानका मेयर हुन् । आफ्नो रूढिवादी राजनीतिको लागि परिचित जाकानी रिभोलुसनरी गाड्र्सको सहायक संस्था बासिजमार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनी चार वर्षसम्म सांसद रहे । काउन्सिलले अस्वीकार गरेको नामहरू इरानमा महत्त्वपूर्ण पदमा बसेका केही चर्चित राजनीतिक व्यक्तित्वलाई चुनाव लड्न अयोग्य घोषित गरिएको मामिला इरानको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको यो पहिलो पटक होइन । मिजुरी युनिभर्सिटी अफ साइन्सको कला र विज्ञान विभागका डीन र इरान मामिलाका विज्ञ मेहरजाद बोरोजेर्डी भन्छन्– ‘पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद र पूर्व सभामुख अली लारिजानीलाई उम्मेदवारीको दौडबाट बहिष्कृत गर्नु विवादास्पद छ ।’ अहमदीनेजाद आठ वर्षसम्म राष्ट्रपति रहे । देशको सर्वोच्च नेतालाई सल्लाह दिने प्रभावशाली निकाय एक्सपेडिन्सी काउन्सिलमा पनि थिए । तर पनि उनलाई स्वीकृति दिइएन । अहमदीनेजाद कुनै समय अयातोल्लाह अली खामेनीको मन पराएका व्यक्ति थिए । तर दोस्रो कार्यकालको अन्त्यमा सर्वोच्च नेतासँग उनी टाढिए । पूर्वमन्त्री, संसद्का सभामुख र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको रूपमा महत्त्वपूर्ण राजनीतिक पृष्ठभूमि भएका अर्का एक्सपेडिन्सी काउन्सिल सदस्य अली लारिजानीलाई पनि अयोग्य घोषित गरिएको छ । यी दुई नेताहरूको बारम्बार अयोग्यताले उनीहरूको रूढीवादी विचार अब सर्वोच्च नेताको विचारसँग मेल नखाने देखिएको बोरोजेर्डीको भनाई छ । #बीबीसी हिन्दी पोस्टको नेभिगेसन गाजा युद्धसम्बन्धी राष्ट्रसंघीय अनुसन्धान पक्षपातपूर्ण : इजरायल अमेरिकाले जफत गरेको रुसी सम्पत्तिबाट युक्रेनले पाउने भयो ५० अर्ब डलर