काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर-५ नागबेलीमा रहेको बोधिचित्तको रुख काटेको आरोपमा पक्राउ परेका एक जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधीश राजेन्द्र नेपालीले पक्राउ परेका सिजन भन्ने मानबहादुर तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
यो आदेश जेठ २८ गते भएको थियो । प्रहरीले उनीसँगै धिरज भन्ने श्यामकृष्ण मैनाली र प्रभात भन्ने दुर्गालाल तामाङलाई पनि पक्राउ गरेको थियो । तर मैनाली र तामाङविरूद्ध हाललाई मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको थियो । योसँगै यसमा संलग्न अर्का एक जना पनि प्रहरीकै हिरासतमा छ ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबाट अगल भएर नेकपा (माओवादी) नामक समुह गठन गरि उक्त समुहको महासचिव बनेका महावीर महेश चौधरी भनिने विश्वनाथ चौधरी हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छ । आपराधिक उपद्रवसम्बन्धी कसुरमा उनी हिरासतमा छन् । अदालतले उनको बयान लिनका लागि समेत आदेश दिएको छ।
सरकारी वकिल कार्यालय काभ्रेले यस घटनामा चिनियाँ नागरिकसहित ८ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो। जसमध्ये दुई जनालाई मात्रै प्रहरीले पक्राउ गरेको हो। कवीन्द्र तामाङ, रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान, अजय भन्ने रामजी श्रेष्ठ र चिनियाँ नागरिक याङ कैलिङ फरार छन् । उनीहरूविरूद्ध विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। सरकारी वकिलले पीडितको क्षतिपूर्ति भराउन पनि मागदाबी गरेको थियो । कुल बिगो रकम ५४ करोड ९९ लाख ७९० रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो । जसमध्ये जाहेरवाला निरबहादुर तामाङ, जग्गाधनीहरू वीरबहादुर तामाङ, दिलबहादुर, ठक्कु, शेरबहादुर र धनबहादुरलाई दामासाही हिसाबले ५४ करोड ३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो ।
त्यस्तै बोधिचित्त खरिदकर्ता एवं जाहेरवाला समिप त्रिपाठीलाई ९६ लाख ७८० रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ । प्रहरीको अनुसन्धानबाट पक्राउ परेका मानबहादुरले शेरबहादुरलाई गेम इज ओभर भनेर मेसेज पठाएको देखिएको थियो । गत चैत ३० गते (रातको १ बजे) उक्त समूहले हातहतियार तथा विस्फोटक पदार्थ बोकेर रूख कटान गरेका थिए । समूहले रूख काटेपछि घर भित्र रहेकी चन्द्रमाया तामाङले उनीहरूले बोलेको कुरा सुनेको प्रहरीसमक्ष गरेको कागजमा उल्लेख छ । रूख कटान गरिसकेपछि घटनास्थलमा भएका व्यक्तिले ‘काम सकियो सिजनलाई जानकारी दिनू’ भनेको चन्द्रमायाले सुनेकी थिइन् ।
जाहेरवाला निरबहादुरले यसअघि मानबहादुरसँग पनि बोधिचित्तको व्यापार गरिसकेका थिए। मानबहादुरले दानाहरू उधारो माग्ने सम्झौता गरेका थिए । तर रकम नदिने भएपछि निरबहादुर लगायतले समिप त्रिपाठीलाई उक्त बोधिचित्तको दाना दिने सम्झौता गरेका थिए । ९० लाख रुपैयाँमा किनबेच गर्ने गरी गत वर्ष साउन १९ गते सम्झौता भएको थियो ।
बैना बापत उनले ५० लाख रुपैयाँ लिइसकेको थियो । त्यसरी नै उनले २०८२ देखि २०८६ सम्म ५ वर्षको लागि मौखिक सम्झौता गरेको थियो । त्यही नपाएको झोँकमा धम्की दिएका मानबहादुरले उक्त रूख काट्न लगाएको अनुसन्धानबाट खुलेको हो ।