समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको तर्क थियो । आगामी महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने र त्यसबाट देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिको रूपमा स्थापित गराउने उनले जिकिर गरे । मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रूपमा विकास गर्ने पनि उनले बताए । नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उनले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
उनले भने, ‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ । पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ । सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौँ । नयाँ विचार संश्लेषण गर्छौँ । नयाँ अभियानसहित लैजान्छौँ । र गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ ।’
प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यक औँल्याए ।
