बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीसहित दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएको छ ।
मोर्चा पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए । सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेको हो । यसअघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्रायस रहेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।