काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका खेलाडीलाई परिचय पत्र वितरण गरेको छ । बुधबार राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमकाबीच ३ प्रकारका परिचय पत्र प्रदान गरेको हो ।

बृहत् राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो । प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निःशुल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणको लागि निःशुल्क सेवा पाउने छन् ।

गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् । सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ ।

कार्यक्रममा सदस्य सचिव घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।