काठमाडौं। इलाम-२ मा भएको प्रतिनिधिसभा उप-निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ  प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी हुँदा दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । नेम्वाङ पाँच हजार ८३० मतान्तर सहित विजय भएका हुन् ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे । कुल खसेको मतको १० प्रतिशत मत कटाउन नसकेपछि रास्वपाका उम्मेदवार सहितका जमानत समेत जफत भएका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । चुनावी मैदानमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष  सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ मा इलाम-२ मा उपनिर्वाचन भएको हो ।