६ दिनअघिदेखि हराएका दुई वटा बस सशस्त्र प्रहरीको ठूलो टोलीले खोजिरहेको छ । हालसम्म १८ वटा शव भेटिए पनि दुई वटा बसको पत्ता अझै लाग्न सकेको छैन । भेटिएका शवमध्ये बुधबार बिहानसम्म १४ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । दुई वटा बसमा ६५ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना बसको झ्यालबाट हामफालेर जोगिएका थिए । अझै ४४ जनाको अवस्था अज्ञात छ ।

चार जना पुरुषको सनाखत हुन बाँकी रहेको थापाले बताए । अन्य शव र बसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको प्रहरीले जनाइएको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशुली नदीमा बेपत्ता भएका थिए ।