काठमाडौं । चर्चित सहकारी प्रकरणमा भएका रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका समिति गठनका लागि संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसिरहेको छ ।

कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा केहीबेर अघि कार्यदलस्तरको बैठक सुरु भएको कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार गठित कार्यदलले समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउने छन् ।

कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो ।  उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।